महालक्ष्मी विकास बैंकले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको छ। बैंकले अपाङ्गता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहज बनाउने उद्देश्यसहित दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाका रूपमा विकास गर्न कदम चालेको छ।
बैंकले दरबारमार्ग शाखामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउन एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनका रूपमा खटाएको छ। यससँगै, संयुक्त राष्ट्र संघ र नेपाल सरकारले तय गरेको यस वर्षको नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” आत्मसात गर्दै, अपाङ्गता संरक्षण नेपालसँग सहकार्यमा शारीरिक अपाङ्गता भएका र दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग गरिएको छ।
कार्यक्रमका क्रममा दरबारमार्गमा आयोजित एक विशेष समारोहमा सेतो छडीलगायतका सामग्री वितरण गरियो। बैंकले यस किसिमका कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन र समावेशी तथा दिगो भविष्य निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
साथै, डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्न बैंकले आफ्नो मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” परिष्कृत गरेर सञ्चालनमा ल्याएको छ। यो एप ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।
महालक्ष्मी विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमार्फत समाजको हरेक वर्गलाई समावेश गर्ने र बैंकिङ्ग सेवा थप पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

