नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको उल्लेख गरिएको छ। प्रतिवेदनमा राजनीतिक स्थायित्व र बलियो सरकार गठनसँगै निजी क्षेत्रको विश्वास अभिवृद्धि भएको र अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट जोगाउँदै सकारात्मक दिशामा अघि बढाएको दाबी गरिएको छ।
प्रतिवेदनमा पुँजीबजारमा सकारात्मक सुधार हुँदै गएको जनाउँदै गत वर्षको तुलनामा राजस्व वृद्धि, निर्यात तथा आयातमा सुधार र पुँजीगत खर्चमा वृद्धि भएको तथ्य प्रस्तुत गरिएको छ। नेपालको पहिलोपटक सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको र दक्षिण एसियामा भारतपछिको दोस्रो स्थान सुरक्षित गरिएको उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा नेपाल लगानीका लागि अनुकूल मुलुक भएको सन्देश प्रवाह भएको प्रतिवेदनमा दाबी गरिएको छ। साथै, गत वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा भइसकेको र आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको जानकारी दिइएको छ।
बिना अध्ययन साना आयोजना केन्द्रित बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजना र अनुशासित कार्यप्रणालीतर्फ केन्द्रित गर्दै मितव्ययितामा जोड दिइएको छ। बैंकहरूको लगानीयोग्य पूँजीको दायरा विस्तार भएको, विप्रेषण आप्रवाह वृद्धि भएको, ब्याजदर एकल बिन्दुमा झरेको र मुद्रास्फीति नियन्त्रणमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकले गत वर्षको ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। समग्रमा, प्रतिवेदनले वर्तमान सरकारको प्रयासबाट मुलुकको अर्थतन्त्र चलायमान हुन थालेको र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको दाबी गरेको छ।

