शोभा ढकाल
नयाँ वर्षले पखालोस् दुखका आँशु,
मनको गहिराइमा फुलोस् खुशीको बाँसु।
साँघुरो सम्बन्ध फेरी फुल्न सकून,
टुक्रिएका सपनाहरू फेरि जुट्न सकून।१।
झ्याल खोलेको छु म नयाँ उज्यालो तिर,
बिगतका छायाहरू अब नआउन फेरि फर्केर।
ती सम्झनाहरू, जसले चिमोट्थ्यो मन,
अब बनून केवल इतिहास, होइन वर्तमान।२।
नयाँ वर्ष, म तिमीलाई स्वागत गर्छु निडर भएर,
पुराना चोटहरू अब फूल बनुन् मुटु भर।
परिवारको तिक्तता पग्लिएर जाओस मिठासमा,
सपनाहरू बाँचून प्रेम र विश्वासमा।३।
यो वर्ष हरेक सम्बन्धमा शान्तिको छाया फैलियोस्,
क्रोध होइन, करुणाले घरको आँगन भरियोस्।
विगतको रिस, पीडा, बिसाउने हो अब,
साँच्चै रमाउने हो जीवन, कसम यो नभुल्ने अब।४।
भुलिउँ ती दिनहरू, जसले पीडा दिए,
मनको ऐनामा आँसु मात्र लेखिए।
तितो त्यो समय, जहाँ माया हरायो,
शब्दभन्दा गहिरो मौनता बसायो।५।
अब सम्झनुको भारी काँधबाट झारौं,
बिगतलाई बिर्सेर नयाँ बाटो चालौं।
धेरै बोलेन मन, धेरै सह्यो पनि,
अब भने शान्तिमा, बाँच्ने हो सजनी।६।
घरको आँगनले फेरि हाँसो खोजोस्,
टुक्रिएका सम्बन्धहरू फेरि जोडियोस्।
बिहानीको घामजस्तै, उज्यालो होस् जीवन,
सम्झनाहरू होइन, बनोस् आशा मूल चिन्ह।७।
विगत, तिमीलाई नमस्कार छ मेरो,
तर अब बाँच्नेछु वर्तमानमा हेरेर फेरी त्यो घेऱो।
नयाँ वर्षले ल्याओस् शान्तिको मधुर गीत,
पुराना घाउहरू सुस्केरा बनी जाओन् जीत।८।

