काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ ।बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मंगलवारदेखि सुनुवाइ जारी छ ।
बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।
बिहीबार सरकारका तर्फबाट गोविन्द खनाल, लोकराज पराजुलीलगायतले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो ।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए । त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो ।
उच्च अदालतको आदेशसँगै चैत २२ गते नै साँझ काठमाडौंस्थित हात्तीगौडा निवासबाट प्रहरीले लामिछानेलाई पुनः पक्राउ गरी रूपन्देही पु¥याएर कारागार चलान गरेको थियो । रवि र छवि हाल रुपन्देही कारागारमा छन् ।

