काठमाडौं, जेठ २२ – विश्व वातावरण दिवस २०२५ को अवसरमा आज वातावरण विभागले राजधानीको कार्की बेङ्क्वेटमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उपस्थिति जनाउँदै वातावरण, वन तथा भू-संरक्षण मन्त्रालयकी राज्य मन्त्री रुपा बिकको प्रमुख आतिथ्यता रहेको थियो। वातावरण संरक्षण, जनचेतना अभिवृद्धि र सञ्चार माध्यमको भूमिकाबारे विशेष छलफल तथा सम्मान समारोह कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
कार्यक्रममा वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने चार जना पत्रकारलाई सम्मान गरिएको छ। पत्रकारहरूले वातावरणीय मुद्दा उठान, जनचेतना फैलाउने कार्य र दीर्घकालीन वातावरणीय प्रभावबारे निरन्तर समाचार सम्प्रेषण गरेबापत पुरस्कृत गरिएको हो। पुरस्कृत हुने पत्रकारहरूमा दैनिक पत्रिका, टेलिभिजन र अनलाइन मिडियाबाट प्रतिनिधित्व रहेको थियो। उनीहरूलाई प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको थियो।
राज्य मन्त्रीले वातावरण संरक्षण सरकारको प्राथमिक एजेन्डामा रहेको बताउँदै स्वच्छ र हरित भविष्यको निर्माणका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। “वातावरणीय संकटको समाधानमा सरकार मात्र होइन, जनसहभागिता र सञ्चारकर्मीको योगदान पनि उत्तिकै महत्वपूर्ण छ,” उनले भनिन्।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक, मन्त्रालयका पदाधिकारीहरू, विभिन्न वातावरणविद्, विद्यार्थी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा वातावरणीय संरक्षणका हालसम्मका उपलब्धि, आगामी कार्यदिशा र जलवायु परिवर्तनसँग जुध्न स्थानीय स्तरमा गरिनुपर्ने पहलहरूबारे समेत छलफल भएको थियो।
यस वर्षको विश्व वातावरण दिवस “प्लास्टिक प्रदूषण न्यूनीकरण” भन्ने नारासहित मनाइएको हो। उक्त अवसरमा कार्यक्रमस्थलमा प्लास्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको थियो भने वातावरणमैत्री सजावट तथा व्यवस्थापन गरिएको थियो।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, लगायतका सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमले वातावरणीय सचेतनालाई अझ व्यापक बनाउने र पत्रकारहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकले जनाएका छन्।
