काठमाण्डौं। पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालसहित तत्कालीन मुख्य सचिव माधव घिमिरे र सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
यो सँगै नेपाल कम्युनिष्ट पार्टी समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सांसद पदबाट संवत: निलम्बनमा परेको छ ।

