काठमाडौं, साउन ११
नेपालमा पर्याप्त उत्पादन सम्भावना हुँदाहुँदै पनि स्थानीय रूपमा धानचामलको माग पूरा हुन नसक्दा आयातमा निर्भरता बढ्दै गएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब २२ करोड रुपैयाँको मात्र धानचामल आयात भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा मात्र २१ अर्ब ५२ करोड रुपैयाँ बराबरको ५३ करोड ३७ लाख किलो धान आयात गरिएको छ। त्यस्तै, १८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको २४ करोड १५ लाख किलो चामल आयात भएको तथ्याङ्कमा उल्लेख छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आवमा देशमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो, जबकि वार्षिक माग ७० लाख मेट्रिक टन रहेको छ। स्थानीय उत्पादनले माग पूरा गर्न नसक्दा देशले वार्षिक करिब १० लाख मेट्रिक टन धान र ६ लाख मेट्रिक टन चामल विदेशबाट आयात गर्नु परेको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो।
उनका अनुसार भारतले धानचामल निर्यातमा खुकुलो नीति अपनाएको र मसिनो बास्नादार चामलको उपभोग बढेकाले आयात रकम र परिमाण दुवै दोब्बर भएको हो।
विशेषज्ञहरूका अनुसार उत्पादन वृद्धि, भण्डारण तथा वितरण प्रणालीमा सुधार नगर्ने हो भने आयात निर्भरता अझ बढ्ने खतरा छ।

