काठमाडौँ । नेपालभर अझै पनि चौध अवैध तुईन रहेको पाईएको छ ।
अत्यन्त बाध्यात्मक अवस्थामा जोखिमसहित प्रयोग गरिने तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट अझ पनि पूर्ण नभएको अवस्था छ ।
१० वर्षअघि मुलुकभर १४६ वटा तुइन थिए भने अहिले १४ वटा मात्र बाँकी छन् । १३२ तुइन विस्थापन गरी सोको सट्टामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । विविध प्राविधिक कारणले तुइन विस्थापित हुन अझै केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग (डोलीडार) अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) स्मिता शर्माले बताउनु भयो ।
उहाँले भन्नुभयो, “१३२ वटा तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ । अहिले दार्चुलाको व्यास र लेकम गाउँपालिकास्थित महाकाली नदीमा १२ वटा तुइन छन् । त्यसै गरी कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन र महाकाली नदीमाथि पञ्चेश्वर घाटमा रहेको तुइन अहिलेसम्म विस्थापित हुन नसकेको हो ।”
हाल सरकारले कहीँ पनि तुइन निर्माणको काम नगरेको स्पष्ट पार्दै उहाँले स्थानीय तह र टोलछिमेक मिलेर पनि तुइन निर्माण गरी जोखिमयुक्त यात्रा गरेको बताउनुभयो ।

सस्पेन्सन ब्रिज डिभिजनका प्रवक्ता प्रेमनारायण बस्यालले नेपाल–भारतबिच सहमति हुन नसक्दा पञ्चेश्वर घाटको तुइन हटाएर मोटरेबल पुल वा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । त्यहाँको तुइन विस्थापित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइए पनि दुई मुलुकबिच सहमति नहुँदा कार्यक्रम नै रद्द गर्नुपर्ने उहाँको भनाइ छ । सहमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।
त्यसै गरी अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसक्दा कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन विस्थापित कार्य अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले अहिले सो ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो । त्यहाँको तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा काम अगाडि बढ्न सकेको छैन । अहिले देशभरिबाट पाँच हजार पाँच सयभन्दा बढी ठाउँमा झोलुङ्गे पुल बनाउन विभागमा प्रस्ताव आएको उहाँले जानकारी दिनुभयो ।
विक्रम संवत २०२० देखि आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म मुलुकभरि ११ हजार चार सय झोलुङ्गे पुल निर्माण भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रवक्ता बस्यालले जानकारी दिनुभयो । सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको पालादेखि नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुल निर्माण भई स्थानीय ग्रामीण भेगका करिब एक करोड ६० लाख जनसङ्ख्या लाभान्वित भइसकेको सस्पेन्सन ब्रिज डिभिजनको दाबी छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा तुइन विस्थापनलाई प्राथमिकता दिने उल्लेख गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक सुविधा नपुगेका दुर्गम क्षेत्रमा यातायातलाई सहज तुल्याउन तुइन विस्थापन गर्ने गरी झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताउनुभएको थियो ।

