काठमाडौं, साउन ११ – तीनकुनेमा आयोजित राजावादी आन्दोलनका मुख्य आरोपीका रूपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाट भावुक अपिल सार्वजनिक गरेका छन्। उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अपिलमा प्रसाईंले आन्दोलनका क्रममा कुनै गल्ती नगरेको दाबी गर्दै आफूलाई सिध्याउने षड्यन्त्र भएको आरोप लगाएका छन्।
अपिलमा उनले भनेका छन्, “जब मेरो गाडीमा अश्रुग्यास खस्यो र अगाडिबाट गोली चल्यो, मैले बुझेँ कि मलाई सिध्याउने योजना छ। त्यसपछि मात्र मैले चालकलाई बाहिर निकालेर गाडी प्रहरीतर्फ हुइँक्याएँ। मलाई तुरुन्तै नियन्त्रणमा लियोस् भन्ने चाहना थियो, तर प्रहरीले लिएन।”
कारागारमै बसेर आगामी योजना
प्रसाईंले कारागारभित्रै बसेर पनि आफ्नो भावी अभियानको योजना बनाइरहेको बताएका छन्। २०४६ सालको संविधान पुनर्स्थापना र हिन्दु राजतन्त्रको पक्षमा आफू अझ दृढ बनेको भन्दै उनले लेखेका छन्, “नेपाल सरकार, माफिया, तस्कर र देशहितविपरीत काम गर्ने राजनीतिज्ञको मुकुण्डो मैले उदाङ्गो पारेको कारण आज म कारागारमा छु।”
भावुक क्षणहरूको स्मरण
अपिलमा उनले संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यको सुसाइड नोटले आफूलाई गहिरो चोट दिएको उल्लेख गरेका छन्। “प्रेमको कष्टपूर्ण व्यावसायिक यात्रामा मैले आफ्ना दुखका दिन देखेँ। तर अब आँसु बगाएर मात्र हुँदैन भन्ने लाग्यो,” प्रसाईंले लेखेका छन्।
परिवारप्रतिको पीडा र प्रेम
कारागारमा रहँदा आफू नातिलाई खेलाउन नपाएको पीडाले मुटु चुँडिएको बताउँदै उनले भनेका छन्, “मेरो नातिले मलाई धेरै सम्झन्छ रे। कारागारमै बोलाएर एकछिन खेलाउँ भन्ने मन छ, तर मन सम्हालिन्छ कि भन्ने डर छ।” उनले विदेशमा अध्ययनरत छोरी यसै महिना डाक्टर भएर फर्किँदै गर्दा विमानस्थलमा स्वागत गर्न नपाउने पीडा पनि पोखेका छन्।
अस्पतालमार्फत सेवाको अपिल
झापास्थित बी.एण्ड.सी. अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले आर्थिक अभावमा उपचार गर्न नसक्नेहरूलाई आफ्नो नाममा निःशुल्क उपचार गराउन आग्रह गरेका छन्।
आन्दोलनबारे आरोप–प्रत्यारोप
प्रसाईंले तीनकुने आन्दोलनलाई शान्तिपूर्ण बनाउने प्रयास गरेको तर सरकारले बर्दीधारी गुण्डा परिचालन गरी बदनाम गरेको आरोप लगाएका छन्। उनले सरकार र सत्तापक्षलाई चेतावनी दिँदै भनेका छन्, “सूर्यमा सधैं ग्रहण लाग्दैन, एक दिन आकाश खुल्छ, धर्ती उज्यालो हुन्छ। हामी मिलेर सुन्दर नेपाल बनाउँछौं।”
सन्दर्भ: यो समाचार दुर्गा प्रसाईंको सचिवालयद्वारा सार्वजनिक गरिएको अपिलको आधारमा तयार गरिएको हो।

