काठमाडौं, साउन १३ —
नागपञ्चमीको पावन अवसरमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै प्रकृतिप्रति सम्मान र संरक्षणको आवश्यकता औंल्याएका छन्।
ओलीले आफ्नो सन्देशमा नागपञ्चमी पर्वलाई पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा व्याख्या गर्दै यो पर्वले अन्य जीवहरूसँग मानवको सहअस्तित्वको सन्देश दिने उल्लेख गरेका छन्।
उनले भने, “प्रकृतिको संरक्षण गर्न नसक्दा हामी आज जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेका छौं। हाम्रो प्राचीन सभ्यताले यस्ता पर्वहरूद्वारा प्रकृतिप्रति श्रद्धा र जिम्मेवारीको भावना विकास गरेको छ।”
परम्पराअनुसार आजकै दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन रहेको स्मरण गराउँदै, ओलीले पुर्खाहरूले प्रकृतिका सबै जीवप्रति श्रद्धा गर्न सिकाएको कुरा उल्लेख गरेका छन्।
“यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास पनि रहिआएको छ,” ओलीले भनेका छन्।
उनले नागपञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै प्रकृति र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने धारणा राखेका छन्

