काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी साउन १५ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकबाट दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको उनको सचिवालयले जनाएको छ।
कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभाका सबै सदस्यलाई अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यद्यपि, नाउपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारसँग बहुमत अझै कायम छ।
संविधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। यसअनुसार, मुख्यमन्त्री शाहले साउन १७ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ।
स्मरण रहोस्, नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मुख्यमन्त्रीबाट भएको आग्रहलाई बेवास्ता गरेको भन्दै पदमुक्त गरिएको थियो।
चौधरीलाई मन्त्रीबाट पदमुक्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिएको थियो ।

