साउन १६ काठमाडौं,
राजधानीको ठमेल र महाराजगन्ज क्षेत्रलाई केन्द्रित गरी गुण्डागर्दी नियन्त्रणका लागि चलाइएको विशेष प्रहरी अपरेसनमा ४७ जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये कुख्यात गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि रहेका छन्। उनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चक्रे मिलन यसअघि पनि २०७४ साल वैशाख २६ गते सोही क्षेत्रबाट पक्राउ परेका थिए, तर पछि छुटेका थिए। लामो समयदेखि अपराधकर्ममा संलग्न रहँदै आएका उनलाई पुनः पक्राउ गर्न प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारेको हो।
गुण्डागर्दी नियन्त्रणका लागि सञ्चालन गरिएको अपरेसनबारे जानकारी दिँदै काठमाडौंका एसएसपी विश्व अधिकारीले विगत केही समयदेखि बढ्दो हप्ता असुली, रात्रिकालीन झगडा र आपराधिक गतिविधि नियन्त्रणका लागि बिहीबार रातभर अपरेसन चलाइएको जानकारी दिनुभयो।
प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले पनि “अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ, थप विवरण संकलन भइरहेका छन्,” भन्नुभयो।
यसै क्रममा साउन १५ को बिहान ३ बजे ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा भएको झगडापछि उनलाई पक्राउ गरिएको हो।
नुवाकोटको ककनी गाउँपालिका–५ निवासी ३३ वर्षीय सानुभाइ टोखाको सूर्यदर्शन हाइटमा बसोबास गर्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात अपराधी कुमार श्रेष्ठ उर्फ ‘घैँटे’का सहयोगी समेत रहेको प्रहरीले जनाएको छ।
राजधानीका रेस्टुरेन्ट, दोहोरी साँझ र नाइट क्लबहरूमा हप्ता असुली, डरधम्की र भिडन्तका घटना बढ्दै गएको गुनासोपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौँको समन्वयमा यो अपरेसन सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार, गुण्डागर्दीविरुद्धको अभियान निरन्तर रूपमा चलाइनेछ र पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया

