काठमाण्डौ । काठमाडौँमा बस्दै आएका हुम्ला स्थायीवासी थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँमा भदौ २४ भएको जेन जेड आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् ।
गत भदौ २३ गते जेन जेड प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए। होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २:०० बजे कोठामा आएर प्रदर्शनमा गएका थिए । दोस्रो दिनको जेन जेड प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताए। एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा उनलाई कतै नभेटिएको बताइएको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेन जेड प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरेका छन् । उनका दुई छोरामध्ये बेपत्ता भएका थुक्तेन कान्छो हुन् ।
हुम्लाको युवा जेन जेड प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन् । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए ।
चौबीस वर्षका लामा नारायणथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आएको थुक्तेनका बुबा टसीले बताएका छन् ।