नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूसँग पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय लिएपछि खनालले असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्पको तयारी थालेका हुन्।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने स्पष्ट पारेका थिए। सो बैठकमा खनाल पक्षलाई भिन्न मत राख्ने अवसर समेत नदिइएको स्रोतले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले भने, “एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा विलय गर्ने जबर्जस्ती निर्णय गरियो। यो पार्टी विसर्जन हो।”
खनालको यस घोषणासँगै एकीकृत समाजवादीभित्रको आन्तरिक असन्तुष्टि खुला रूपमा सतहमा आएको छ। अब उनी निकट नेताहरू र कार्यकर्ताहरूसँग छलफल गरी नयाँ पार्टीको संरचना र नाम सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ।

