काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री बनेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ गराएकी हुन्। यादवले आफूसहित तीन मन्त्रीले पनि सोही अवसरमा पद तथा गोपनीयताको शपथ लिएको जानकारी दिए।

‘म हिजो बेलुकी नै मुख्यमन्त्री नियुक्त भएको हुँ,’ यादवले टपटेन खबरसँग भने, ‘प्रदेश प्रमुखज्यू अस्वस्थ भएर काठमाडौँ जान लाग्नुभएकोले हतारमा होटलमै शपथ लिनुपर्यो।’
संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
यसअघि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री जितेन्द्रकुमार सोनलले केही दिनअघि राजीनामा दिएका थिए।
प्रदेश प्रमुख भण्डारी सोमबार बिहान अस्वस्थ भएपछि जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्। उनलाई तत्कालीन मुख्यमन्त्री सोनलले नै बिदाइ गरेका थिए।
यसअघि आइतबार बेलुकी नेपाली कांग्रेस, जसपा, जनमतलगायत सात दलका ७८ जना प्रदेश सभा सदस्यले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।

