काठमाडौँ — सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४२९ जनालाई तत्काल राहतस्वरूप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयको जानकारी दिए।
सरकारको निर्णयअनुसार राहत रकम छिटो वितरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी थाल्न निर्देशन दिइएको छ।
माथिल्लो मुस्ताङ भ्रमणको नयाँ व्यवस्था
मन्त्रिपरिषद्ले विदेशी पर्यटकका लागि माथिल्लो मुस्ताङ क्षेत्र प्रवेश अनुमति सम्बन्धी नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ। अध्यागमन नियमावली–२०५१ को अनुसूची १२ संशोधन गरी विदेशी नागरिकबाट प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा अनुमति दस्तुरका रूपमा लिने व्यवस्था मिलाइनेछ।
नर्वे–स्वीजरल्याण्डबाट थप अनुदान स्वीकृत
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) सञ्चालनका लागि नर्वे सरकारबाट प्राप्त करिब ५ मिलियन अमेरिकी डलर र स्वीजरल्याण्ड सरकारबाट प्राप्त २.१ मिलियन अमेरिकी डलर बराबरको अतिरिक्त अनुदान सहायता सरकारले स्वीकृत गरेको छ।
स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि समिति
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्ने उद्देश्यसहित ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड पुनःसंरचनासम्बन्धी सुझाव समिति–२०८२’ गठन गरिएको छ।
समितिको संयोजकमा प्रकाशजङ केसी (काठमाडौँ) रहेका छन्। समितिले आवश्यक अध्ययन गरी सरकारलाई ठोस सुझाव पेस गर्नेछ।
विशेष सेवा ऐन संशोधन र नयाँ नियुक्ति
सरकारले नेपाल विशेष सेवा ऐन–२०४२ संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै, सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ (नवलपरासी) लाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

