काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित्सहित सशक्त सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विराटनगरले पहिलो दुई अंक सुरक्षित गरेको हो।
पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन जोड्दै एनपिएल इतिहासमै सर्वाधिक स्कोर बनायो। अघिल्लो वर्ष लुम्बिनीविरुद्ध १९३ रन बनाएको आफ्नो नै रेकर्ड यसपटक तोड्न सफल भयो।
विराटनगरको विशाल स्कोरमा मार्टिन गुप्टिल र लोकेश बम मुख्य नायक बने। गुप्टिलले ३५ बलमा ५ छक्का र ३ चौकासहित ६१ रन प्रहार गरे। लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौकाको मद्दतमा ७२ रन बनाए। यी दुवैले दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै पारीलाई बलियो बनाएका थिए।
शुभम रञ्जनेले १६ बलमा ३८ तथा बसिर अहमदले १३ बलमा २३ रन थपे।
बलिङतर्फ पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एक–एक विकेट हात पारे।
पोखरा एभेन्जर्स १६७ मा अलआउट
२२१ रनको चुनौती पछ्याएको पोखरा १८.५ ओभरमै १६७ रनमा समेटियो। कप्तान कुशल भुर्तेलले ५९ रन बनाए भने एडम रोस्सिंटनले ३९ र ड्यान डाउवेर्थले २९ रन जोडे। तर अन्य ब्याटरले दोहोरो अंक बनाउन नसक्दा लक्ष्य निकै टाढा रह्यो।
विराटनगरका प्रतिश जिसी, शुभम रञ्जने, मार्चन्ट डि लिङ्गे र कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट लिँदा बसिर अहमद र सूर्य तामाङले एक–एक विकेट हात पारे।

