काठमाडौं — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाज आज उपविजेता सुदूरपश्चिम रोयल्ससँग दोस्रो खेल खेल्दैछ। उद्घाटन खेलमा साविक च्याम्पियन जनकपुरलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको काठमाडौं उच्च मनोबलसहित मैदान उत्रिनेछ।
बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। काठमाडौंको नेतृत्व करण केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रिनेछ।
काठमाण्डु गुर्खाज : बलियो विदेशी लाइनअप र सन्तुलित संयोजन
काठमाण्डुले यो सिजन बलिया विदेशी खेलाडी समावेश गरेको छ। नामिबियाका कप्तान जेरार्ड एरासमससँगै इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिकाका मिलिन्द कुमार र भारतका सन्नी पटेल टोलीमा रहेका छन्।
कप्तान करण केसीलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव र प्रतिक श्रेष्ठले साथ दिइरहेका छन्।
बलिङतर्फ केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापा मुख्य हातियार हुनेछन्।
कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको टिम भएकाले यसप्रति क्रिकेटप्रेमीको चासो झनै बढेको छ।
सुदूरपश्चिम रोयल्स : उपविजेताको पुनरागमन, कप्तान ऐरीमा मुख्य भरोसा
पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स यसपटक पनि बलियो स्वरूपमा देखा परेको छ। अघिल्लो सिजनका विदेशी अनुहारहरू—न्यूजिल्याण्डका स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंह—लाई यसपटक पनि निरन्तरता दिइएको छ। यससहित अष्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनले टोलीको आक्रमणलाई धारिलो बनाउनेछन्।
कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समावेश छन्।
बलिया नामहरू भए पनि सुदूरपश्चिम खेलको केन्द्रबिन्दु कप्तान ऐरीकै प्रदर्शनमा निर्भर रहने देखिन्छ।

