धनकुटा — धनकुटाकी युवा शिक्षिका स्मारिका राई मात्र २० वर्षको उमेरमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हाल्दै स्थानीय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकी छन्। साँगुरीगढी गाउँपालिका–८ स्थित भूमिश्वर प्राथमिक विद्यालयकी प्रधानाध्यापकका रूपमा उनी हालै नियुक्त भएकी छन्, जसले उनको क्षमता, लगनशीलता र दृढताप्रति समुदायको विश्वास झल्काउँछ।
विद्यालयको नेतृत्वसम्को यो उपलब्धि स्मारिकाका लागि सहज भने थिएन। कम उमेर, चुनौतीपूर्ण परिवेश र दुवै पक्षबाट आउने अपेक्षाबीच उनले निरन्तर आत्मविश्वास र मेहनतलाई साथ बनाइन्। शिक्षक सेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षा २०८१ फागुनमा उत्कृष्ट रूपमा उत्तीर्ण गर्दै उनी सरकारी शिक्षक बनेकी थिइन्। यही सफलता नै उनको नेतृत्व यात्राको मुख्य आधार भयो।
प्रधानाध्यापकका रूपमा जिम्मेवारी पाउनासाथ उनले विद्यालयमा शैक्षिक सुधार, विद्यार्थीमैत्री वातावरण र अध्ययन–अनुशासनमा केन्द्रित योजनाहरू अघि सारिरहेकी छन्। स्थानीय समुदायले ऊर्जा, दृष्टि र नेतृत्व क्षमताले भरिपूर्ण युवा प्रधानाध्यापक पाएर निकै उत्साह व्यक्त गरेको छ।
कम उमेरमै नेतृत्वमा स्थापित हुन सफल स्मारिका राई आज धनकुटाका युवाहरूका लागि मात्र होइन, देशभरका अग्रसर महिलाहरूका लागि पनि प्रेरणादायी पात्रका रूपमा उदाएकी छन्। उनका उपलब्धिहरूले युवा पुस्ता–विशेषतः महिलाहरूले चाहे भने कुनै पनि जिम्मेवारी र नेतृत्व हासिल गर्न सकिने सन्देश प्रवाह गर्छ।
उनी भन्छिन्—“परिश्रम र प्रतिबद्धताले लक्ष्य असम्भव हुँदैन।”
स्मारिकाको यही सोच र यात्रा अहिले धनकुटा र आसपासका क्षेत्रका लागि गर्वको विषय बनेको छ।

