ताप्लेजुङ — सिदिङवा गाउँपालिका–५, साब्लाखुस्थित भञ्ज्याङ बजारमा शुक्रबार दिउँसो भएको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
दिउँसो करिब सवा ४ बजे ३५ वर्षीय डेनी तामाङको पाँचतले घरको सिरानमुनीबाट आगो लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले बताए। विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
साब्लाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदीपकुमार विष्टका अनुसार घरको छतमा जस्तापाता जडान गरिएको थियो। त्यही भागबाट फैलिन थालेको आगो स्थानीय, प्रहरी र जनप्रतिनिधिको प्रयासमा साँझ ६:४० बजे नियन्त्रणमा लिइएको हो।
आगो फैलिन नदिन छिमेकी घरका जस्तापाता फुकालेर जोखिम न्यून बनाइएको स्थानीयले बताए। बजारको सिरानमा रहेको १० हजार लिटर क्षमताका दुई पानी ट्यांकी र तत्काल उपलब्ध जनशक्तिले आगो नियन्त्रणमा भूमिका खेलेको थियो।
घटना बेला नजिकैको भञ्ज्याङ माध्यमिक विद्यालयमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड चलिरहेको थियो। त्यसमा उपस्थित विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा साब्लाखु, थुम्बेदिन, सिनाम र खाम्दिम्बे प्रहरी चौकीका ११ जना प्रहरी समेत परिचालित भएपछि आगो थप फैलिनबाट जोगिएको प्रहरीले जनाएको छ।

