कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा ‘उम्मेदवार छनोट अडिट समिति’ गठन
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार नियुक्त गरेको छ। शुक्रबार नै पार्टी प्रवेश गरेका पोखरेललाई सचिवालय बैठकमार्फत औपचारिक रूपमा जिम्मेवारी तोकिएको हो।
सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरिएको छ।”
त्यसैगरी, आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गरिएको बैठकले जनाएको छ।
उम्मेदवार छनोट अडिट समिति गठन
सचिवालय बैठकले पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा ‘उम्मेदवार छनोट अडिट समिति’ गठन गरेको छ। समितिमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमारआनन्द मिश्र सदस्य रहेका छन्।
साथै, रास्वपाले प्रदीप तिमल्सेना (साजन) र मिन्तिरा लामालाई केन्द्रीय संगठन विभागको सदस्यमा नियुक्त गरेको छ।

