काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज कास्कीको पोखरामा एकता सन्देश सभा आयोजना गर्दैछ। नयाँ राजनीतिक एकता र संगठन विस्तारका सन्देशसहित देशव्यापी अभियान थालेको नेकपाले प्रदेश–प्रदेशमा ठूलो सहभागितासहित सभा गरिरहेको छ।
आजको पोखरा सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। उनीहरूले हाल भएको पार्टी एकतापछि उत्पन्न नयाँ राजनीतिक सम्भावना, संगठन विस्तार, तथा आगामी योजनाबारे महत्वपूर्ण घोषणा गर्ने अपेक्षा गरिएको छ। सभामा अन्य केन्द्रीय सदस्य, स्थानीय नेताहरू तथा विभिन्न जनसंगठनहरूको पनि सहभागिता हुने बताइएको छ।
नेकपाले पोखरापछि अन्य प्रदेशमा पनि सभा निरन्तरता दिने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले सोमबार कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्ने जनाएको छ। त्यसपछि मङ्सिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मङ्सिर २० गते मधेस प्रदेशको जनकपुरमा तथा मङ्सिर २३ गते बागमती प्रदेशको हेटौँडामा सभा आयोजना हुने छ।
पार्टी नेतृत्वका अनुसार यी सभाहरूले देशभर पार्टी एकता र जनसंगठन विस्तारलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

