काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीचको औपचारिक एकता आज (आइतबार) घोषणा हुँदैछ। दिउँसो राष्ट्रिय सभागृहमा विशेष एकता घोषणासभा आयोजना भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाका अनुसार असल शासन, पारदर्शिता र समुन्नतिसँग सरोकार राख्ने दुई राजनीतिक शक्तिबीच एकीकरणको प्रक्रिया पूर्णता तर्फ अघि बढेको हो। विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गर्दै निःसर्त एकतामा जाने निर्णय पहिले नै गरिसकेको थियो।
विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो। त्यसपछि २०७० मा विवेकशील नेपाली दलको रूपमा औपचारिकता पाउँदै चुनावी प्रतिस्पर्धामा गएको थियो।
रास्वपा भने २०७९ असार ७ गते स्थापित भई पछिल्ला निर्वाचनमा निर्णायक राजनीतिक उपस्थितिसहित उदाएको हो।

