जनकपुरधाम,
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अब अन्य सबै प्रदेशमा पनि देखिने दाबी गरेका छन्। शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा बोल्दै उनले मधेशमा सरकार गठनका क्रममा पुराना राजनीतिक समीकरणहरू भत्किएर नयाँ शक्तिसन्तुलन बनेको बताए।
उनका अनुसार मधेशबाट सुरु भएको राजनीतिक पुनर्संयोजन अब क्रमशः अन्य प्रदेशमा विस्तार हुँदै जानेछ। गणतन्त्र स्थापना भएको धेरै वर्ष बितिसक्दा पनि जनताले अनुभूति गर्ने खालको परिवर्तन नआएको उल्लेख गर्दै उनले यही कारणले जेन–जी आन्दोलन जस्ता जनअसन्तुष्टि जन्मिएको बताए।
प्रचण्डले आन्दोलनपछि राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै रूपान्तरणका साथ नयाँ बाटो रोज्नु आवश्यक भएको र यही कारण वृहद् एकताको प्रक्रिया अघि बढाइएको स्पष्ट पारे। उनले जनताको साझा एकताले मात्र प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सकिने भन्दै देशलाई स्थिर रूपले अगाडि लैजाने नेतृत्व नेकपाले गर्ने दाबी दोहोर्याए।

