काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै अलआउट हुँदै ८५ रनमा सीमित भयो। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्दा हर्मीत सिंह र स्कट कुग्गेलेजिनले समान १०–१० रन बनाए।
अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्। विनोद भण्डारी, दीपक बोहरा र पुनीत मेहरा शून्यमै आउट भए भने शेल्डन जाक्सन र अविनाश बोहरा १–१ रन, आरिफ शेख ६ रनमा आउट भए।
लुम्बिनीका लागि बलिङतर्फ कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेल्मन र शेर मल्लले समान तीन–तीन विकेट लिए। रोहित पौडेलले एघारौँ ओभरमा ह्याट्रिक विकेट लिँदै खेलमा निर्णायक प्रभाव पारे। तिलक भण्डारीले एक विकेट लिए।
८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन, रोहित पौडेलले १६ रन र डी आर्की सर्टले १४ रन बनाए। सन्दीप जोरा शून्यमै आउट भए।
सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि उचाल्न सफल भएको छ।
दोस्रो संस्करणमा शुरुवातदेखि वाहवाही पाउँदै उत्कृष्ट प्रदर्शन गर्दै आएको एनपीएल पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स यस पटक पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

