काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज र भोलि काठमाडौँ, भृकुटीमण्डपमा सञ्चालन गरिने पार्टीले जनाएको छ।
नेकपा (एमाले)ले बिहान ८ बजेदेखि बन्दसत्र सुरु भएको जनाएको छ।
यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिने तयारी गरेका छन्। यद्यपि बन्दसत्र सुरु भैसक्दा पनि दुवै पक्षले आ–आफ्नो प्यानल सार्वजनिक गरिसकेका छैनन्।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेललाई पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन रहेको बताइएको छ। यो समूहलाई ‘ईश्वर–विद्या प्यानल’ का रूपमा घोषणा गरिने चर्चा केही समययता चल्दै आएको छ।
आजदेखि २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्।
पार्टी विधानअनुसार एमालेमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।
यसैगरी, एमालेको केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय रहने विधानले व्यवस्था गरेको छ।

