रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनलाई ‘राजनीतिक निकास’को एकमात्र बाटोका रूपमा अघि सारेका छन्। उनले ताजा जनादेश लिएर संसदमा फर्किने दाबी गर्दै समयमै निर्वाचन हुने र त्यसले मुलुकको राजनीतिक दिशा बदल्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय सभागृहमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै लामिछानेले अहिले देशमा ‘अब केही हुन्छ’ भन्ने आशा पुनः सञ्चार भएको बताए। आगामी निर्वाचनमार्फत जनताले पुराना राजनीतिक शक्तिहरूलाई किनारामा पुर्याउने दाबी गर्दै उनले युवाको भरोसाले बनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गर्न आग्रह गरे।
ठूला दलहरूबीच मिलेमतो भइरहेको चर्चा आफूले सुन्दै आएको उल्लेख गर्दै लामिछानेले त्यसप्रति तीखो प्रश्न उठाए। “के उनीहरू मिलेर फेरि जनताको आवाज दबाइने संसद बनाउन खोजिरहेका छन् ?” भन्दै उनले विगतझैं संसदमा माइक काट्ने, असहमति दबाउने अभ्यास दोहोरिन नहुने चेतावनी दिए।
सहकारी प्रकरणलाई संकेत गर्दै उनले आफू जस्ता व्यक्तिलाई संसदबाहिर राख्ने प्रयास भइरहेको आरोप पनि लगाए। “सहकारीको बाटो नहिँडेको म जस्तालाई हटाउने षड्यन्त्र हो भने जनता चुप बस्दैनन्,” उनको भनाइ थियो।
लामिछानेले निर्वाचन रोक्ने वा सार्ने षड्यन्त्रबारे पनि सचेत गराउँदै कसैले त्यस्तो सोच नराख्न चेतावनी दिए। “चुनाव भाँडेर होइन, चुनावबाटै देशले निकास पाउँछ,” भन्दै उनले लोकतान्त्रिक प्रक्रियाबाटै राजनीतिक संकटको समाधान सम्भव रहेको बताए।
उनको सम्बोधनले रास्वपाले आगामी निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई पुरानो राजनीतिक संरचनालाई चुनौती दिने अवसरका रूपमा लिएको स्पष्ट संकेत गरेको छ

