प्रा. डा. बुद्धि पौड्याल / वरिष्ठ बाथरोग विशेषज्ञ
काठमाडौँ, पुस २४ सामान्य भाषामा बाथरोग अर्थात आरथ्राईटिस भन्नाले शरीरका विभिन्न जोर्नीस र जोर्नी वरपरका संरचनाहरु हाड, मांसपेशी र यिनीहरुलाई परस्परमा जोडेर राख्ने नसाहरु दुख्ने, सुन्निने, कक्रक्क हुने र अररो भई राम्ररी चलमल गर्न नसकिने अवस्था बुझिन्छ । नेपाली समाजमा जोर्नी र जीउ दुख्ने समस्याको प्रमुख कारणमा विभिन्न किसिमका बाथरोगहरु पर्दछन । चिकित्सा विज्ञानमा एक सयभन्दा बढी किसिमका बाथरोगहरुको बारेमा बर्णन भएको पाईए तापनि नेपाली समाजमा देखा परेका मुख्य बाथरोगहरुमा जोर्नी खिईएर हुने बाथ ओस्टियो(आरथ्राईटिस, जोर्नीलाई क्षतविक्षत पार्ने आम बाथ र्र्युमटोइड् आरथ्राईटिस, यूरिक एसिड बढेर हुने बाथ गाउटी आरथ्राईटिस, काछको जोर्नी र ढाडमा असर पार्ने बाथ स्पोंडिलो(आरथ्राईटिस, वाल्यावस्थामै सुरु हुने बाथ जुभेनाईल आरथ्राईटिस र मुटुको बाथज्वरो, रगतको नसा सुजन हुने बाथ ९भास्कुलाईटिस, विशेषगरि युवतीहरुमा बढी देखा पर्ने कडा किसिमको बाथ लुपस, छाला बाक्लो हुने बाथ स्क्लेरोडर्मा र मांसपेशी एवं नसाहरु दुख्ने समस्या र्र्युमटिज्म प्रमुख
बाथरोग हरेक उमेर, लिङ्ग र पेशाका मानिसहरुमा हुनसक्ने साझा रोग हो । सामान्यतया बाथरोग लामो समयसम्म रहिरहने दीर्घरोग भएता पनि रोगको किसिम र प्रकृति हेरी कुनै बाथरोग पूर्णतया निको हुने खालको हुन्छ भने धेरैजसोमा लामो समयसम्म ९सम्भवत जीवनभरि नै० औषधी सेवन गर्नुपर्ने हुन सक्छ । विभिन्न अध्ययन अनुसार बाथरोगहरु अमेरिका लगायत विश्वभरी नै शारीरिक दुर्बलताको सबैभन्दा प्रमुख कारण भएको थाहा हुन आएको छ । नेपालमा बाथरोग सम्बन्धी यकिन आँकडा उपलब्ध नभए तापनि अरु देशको आँकडासंग तुलना गर्दा कुल जनसंख्याको १० प्रतिशत भन्दा धेरैलाई कुनै न कुनै किसिमको बाथरोग भएको अनुमान गरिएको छ । विभिन्न अध्ययनका अनुसार बाथरोग भएका दुई तिहाई भन्दा बढी बिरामीहरु ६० बर्षभन्दा कम उमेर समूहका र आर्थिक हिसाबले उत्पादनशील उमेर समुहका छन् । कतिपय बाथरोगले त बच्चा र वयस्कहरुलाई मात्रै असर गरेको पाईन्छ । यसबाट बाथरोगले व्यक्ति, परिवार, समाज र देशकै स्वास्थ्य स्थिति र अन्ततस् अर्थ व्यवस्थामा समेत कतिसम्म नराम्रो असर पुर्र्याउन सक्छ भनेर आंकलन गर्न सकिन्छ ।
कसरी चिन्ने बाथरोग
तल प्रस्तुतमध्ये केही अवधिदेखि एक वा सो भन्दा बढी समस्या देखा परेमा आफुलाई बाथरोग छ कि भनी शंका गर्नुपर्छ र बाथरोग विशेषज्ञ चिकित्सकसंग परामर्श लिनु उत्तम हुन्छस्
जोर्नीहरू दुख्ने, सुन्निने, अररो हुने
बिहान र साँझपख चिसोमा चलमल गर्न गाह्रो हुने
ढाड, गर्दन र फिला दुख्ने
शरीरको बिभिन्न भागका मांसपेशीहरु दुख्ने
हातगोडाका औलाहरु कक्रक्क हुने, राति र बिहानपख सिरक तान्न गाह्रो हुने, झ्यालढोकाको चुकुल खोल्न गाह्रो हुने
चिसो पानी छुँदा हातका औलाहरूको रंग परिवर्तन हुने ९क्रमशः सेतो, नीलो र रातो हुने०
हातगोडा लगायत शरीरको छाला बाक्लो हुने
अनुहार र शरीरका विभिन्न भागको छालामा विभिन्न किसिमका दागहरु देखिने, इत्यादि ।
बाथरोगको असर जोर्नी र मांसपेशीमा मात्रै सीमित नरहिकन शरीरका हरेक अङ्गहरुमा पर्न सक्ने भएकोले बाथरोगका बिरामीहरु अरु नै बिभिन्न किसिमका समस्या लिएर चिकित्सककहाँ पुग्न सक्छन । उदाहरणको लागि आँखा दुख्ने, आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, मुख र गुप्ताङ्गमा घाउहरु आउने, दम बढ्ने, छाती दुख्ने, खोकी लाग्ने, मुटु हल्लिने, पेट दुख्ने, दिसामा रगत जाने, हातगोडाहरू झमझम गर्ने, निदाउने, लुलो हुने इत्यादि ।

बाथरोगसँग सम्बन्धित भ्रम र वास्तविकता
१. भ्रमस् बाथरोग बुढ्यौलीसंगै आउने रोग हो ।
वास्तविकतास् बाथरोगले हरेक उमेर समूह ९बालबालिका, वयस्क, बृद्धावस्था का व्यक्तिहरुलाई असर गर्न सक्छ । रोग छिप्पिदैं जाँदा शरीरमा नकारात्मक असर पनि बढ्दै जाने भएकोले बालबालिका तथा वयस्क अवस्थामा देखा परेको बाथरोगले कालान्तरमा जोर्नीमा अझ धेरै असर पार्न सक्छ ।
२. भ्रमस् बाथरोग जोर्नीको मात्रै रोग हो ।
वास्तविकतास् बाथरोगले जोर्नीमा मात्रै सीमित नरहिकन शरीरका बिभिन्न अङ्गहरुमा असर पार्न सक्दछ । बाथरोगको प्रकार, प्रकृति र सिकिस्तपनअनुसार शरीरका विभिन्न महत्वपुर्ण अङ्गहरुमा जटिल असर पार्नेदेखि लिएर समयमा उचित उपचार नभएमा बिरामीको आयुसमेत घटाईदिन सक्छ ।
३. भ्रमस् रगतमा यूरिक एसिड बढ्नाले बाथरोग हुन्छ ।
वास्तविकतास् हाम्रो समाजमा जुनसुकै उमेर, लिङ्ग वा वर्गको मानिसमा जोर्नी, मांसपेशी वा हातगोडा दुखेमा, सुन्निएमा वा झमझम गरेमा यूरिक एसिड बढेर यस्तो भएको मानिन्छ, जुन धेरै हदसम्म सत्य होईन । यूरिक एसिड बढी भएर हुने बाथ ९गाउट० प्रायजसो वयस्क र बढ्दो उमेरका पुरुषहरुलाई हुन्छ । धेरै प्रकारका बाथरोगहरु मध्ये युरिक एसिडको बाथ एक हो । अरु किसिमका बाथरोगहरु यूरिक एसिडसँग सम्बन्धित हुँदैनन्, अरु नै कारणले हुन्छन ।
४. भ्रमस् दुखाई कम गर्ने औषधी पेनकिलर सेवन गरेर बाथरोगको उपचार गर्न सकिन्छ ।
वास्तविकतास् रोगको प्रकृति र सिकिस्तपन हेरी बाथरोगको उपचारमा आवश्यकतानुसार पेनकिलर औषधीको प्रयोग गरिन्छ । तर यसको प्रयोगले मात्रै बाथरोगको उपचार हुन सक्दैन । बाथरोगको मुख्य औषधी सेवन नगरी खाली पेनकिलर मात्रै सेवन गर्दा औषधीको कुप्रभाव स्वरूप पेट, मृगौला, मुटु लगायतका अङ्गमा असर गरि ज्यानै जोखिममा पर्न सक्छ । चिकित्सकसँगको परामर्श बेगर आफूखुसी लामो समयसम्म पेनकिलर औषधी सेवन गर्दा यस्तो समस्या हुनसक्छ ।
५.भ्रमस् बाथरोगमा प्रयोग हुने औषधीले मृगौलामा असर गरि मृगौलाको कार्य(विफलता किड्नी फेल गराउँछ ।
वास्तविकतास् चिकित्सकको नियमित परामर्शमा रही औषधी सेवन गर्दा बाथरोग बिरुद्दका औषधीहरुले मृगौला लगायत अरु अङ्गहरुमा असर पार्ने सम्भावना एकदमै कम हुन्छ । यसको लागि डाक्टरको निकट निगरानीमा रही बेलाबेलामा रगत परीक्षण गर्नुपर्ने हुन्छ । बरु जथाभावी आफूखुसी औषधी सेवन गर्दा किड्नी फेल भएको उदाहरण धेरै पाउन सकिन्छ ।
६. भ्रमस् खानेकुरा बारेर बाथरोग निको पार्न सकिन्छ
वास्तविकतास् बाथरोगबाट ग्रसित बिरामीहरुको अनुभवअनुसार भिन्नभिन्न किसिमको खानेकुराले बाथरोग र दुखाई बढाएको भन्ने कथन पाईन्छ । त्यसैले कुन खानेकुराले आफुलाई अप्ठ्यारो पारेको अनुभव छ, त्यसलाई परहेज गर्नु राम्रो हुन्छ । हरेक बाथरोगीको अनुभव फरक फरक हुने हुँदा उस्तै खानेकुराले सबैलाई समस्या बढाउँछ भन्नु उचित हुँदैन । सामान्यतया धुमपान र मद्धपानको सेवनले समस्या बढ्न सक्छ । धेरै मात्रामा रातो मासु, चिल्लो, बोसोयुक्त खानेकुरा सेवन गर्नु हुँदैन । अरु सामान्य व्यक्तिले जस्तै बाथरोगका बिरामीहरुले पनि सन्तुलित मात्रामा पोषणयुक्त खानेकुरालगायत प्रशस्त फलफूल, हरिया सागसब्जी सेवन गर्नु राम्रो मानिन्छ ।
७. भ्रमस् बाथरोगलाई स्याल तथा चिप्ले कीराको मासु खाएर वा स्यालको मासुबाट बनाएको रक्सी सेवन गरि निको पार्न सकिन्छ । बिजुलीको तेलले सेक्दा बाथरोग निको हुन्छ ।
वास्तविकतास् नेपाली समाजमा यस्ताखाले विभिन्न खालका भ्रामक चलनहरु बिद्यमान छन् । यी कुनैमा पनि वैज्ञानिक आधार नभएको हुनाले यस्ता कुराको पछी नलागि बाथरोगको शंकास्पद व्याक्तिले सकभर छिटो उचित ठाउँमा गई चिकित्सकको परामर्श लिएर औषधीउपचार गराई हाल्नुपर्छ । प्रभावित जोर्नीमा विभिन्न तेल लगाएर मालिश गर्दा क्षणिक राहत पाउन सकिन्छ, तर बाथरोग निको हुँदैन ।
८. भ्रमस् प्राकृतिक चिकित्सा, एक्युपंचर, एक्युप्रेसर आदिले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ ।
वास्तविकतास् प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुखाईबाट क्षणिक राहत दिएपनि बाथरोग बढ्न नदिन र सम्भाव्य जटिलता हुनबाट जोगाउन खासै सहयोग पुर्र्याएको पाईएको छैन ।
९. भ्रमस् आयुर्वेदिक पद्धति तथा बिभिन्न जडिबुटीको प्रयोग गरेर बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ ।
वास्तविकतास् आयुर्वेदिक पद्धतिद्वारा पनि बाथरोगको औषधीउपचार गर्ने पुरानै प्रचलन भए तापनि हिजोआज धेरै ठाउँमा आयुर्वेदिक औषधीको नाम दिएर बिभिन्न पेनकिलर र स्टेरोइड औषधीको बेनामी धुलो औषधी सेवन गराएको पाईएको छ । यस्तो औषधीले ज्यानै जोखिममा पर्न सक्ने भएकोले कसैले पनि कहिल्यै पनि बेवारिसे र बेनामी औषधी सेवन गर्ने गराउने गर्नु हुँदैन ।
१०. भ्रमस् बाथरोगको उपचार गर्दा जोर्नीको पानी झिक्नु वा जोर्नीमा सुई लगाउनु हुँदैन ।
वास्तविकतास् बाथरोगको परीक्षण र उपचारको क्रममा आवश्यकतानुसार जाँच(पड्ताल एवं उपचारको लागि जोर्नीको पानी झिक्नुपर्ने वा जोर्नीमा विशेष किसिमको औषधीको सुई लगाउनुपर्ने हुन सक्छ । विशेषगरि एक(दुईवटा जोर्नीहरू दुखेको(सुन्निएको अवस्थामा दक्ष चिकित्सकबाट यस्तो सुई लगाउन सकिन्छ । यसले जोर्नीको दुखाई घटाएर पेनकिलर औषधीको सेवन कम गर्नसमेत मद्धत पुर्र्याउँछ ।
लेखक :पाटन अस्पताल, लगनखेल र आरोग्य स्वास्थ्य
सदन नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलसँग आवद्ध हुनुहुन्छ ।

