काठमाडौँ : सन् २०२४ को नोभेम्बरसम्म देशका ३ वटा अन्तरराष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना यात्रुले हवाई यात्रा गरेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आवमा सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख गरेको छ।
मगलवार काठमाडौँमा प्राधिकरणको २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रस्तुत गर्दै प्राधिकरणले गत आवमा १४ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ कुल आम्दानी गरेको जानकारी दिए।

सन् २०२३ को नोभेम्बरसम्म ती ३ वटा विमानस्थलबाट आवागमन गर्ने अन्तरराष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो। जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए।
उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन्। सन् २०२३ कोभन्दा यो संख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ।
सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए। नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ।
नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए। जसबाट कुल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए।
हेलिकप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्रबाहेक) करिब ४५ सय वटा उडान भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताए।
महानिर्देशक अधिकारीले गत आव ०८०/८१ मा प्राधिकरणले गरेको १४ अर्ब ७१ करोड ३८ लाख आम्दानीमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ।
गत वर्ष पुँजीगततर्फ सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए।
उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफलको अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिइ क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तरराष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सीवे निर्माण जारिरहेको बताए।

