काठमाडौँ । बौद्ध स्थित पाँच तारे होटल हायात रिजेन्सी सम्भवतः नेपालको सबैभन्दा ठूलो होटल हो । करिब तीन दशक अघि स्थापना भएको अन्तर्राष्ट्रिय चेन हायात रिजेन्सी होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन प्रबद्र्धनमा नयाँ आयाम मात्रै थपिएको छैन यसबाट राज्यले समेत राजस्वमा रुपमा राम्रो रकम प्राप्त गरिरहेको छ ।
पर्यटन प्रबद्र्धन, रोजगारी सृजनादेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालन गरी विदेशी पर्यटक आकर्षित गर्न सफल यस होटललाई राज्यले समेत कैयौँ पटक पर्यटन क्षेत्रमा सबैभन्दा कर तिर्ने होटलका रुपमा सम्मानित गरिसकेको छ ।
कम्पनीका अनुसार होटलले मुलुकको अर्थतन्त्रमा योगदान गरे वापत विभिन्न समयमा सम्मान पनि पाएको छ । गत आर्थिक वर्ष समेत गरि ६ औ पटक पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा सम्मानित भइसकेको छ । पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत समेत विभिन्न मितिमा सम्मानित भइसकेको छ । यसले पनि होटलले मुलुकका लागि पर्यटन प्रबद्र्धनसँगै राजस्व र रोजगारी सृजनामा गरेको योगदान अतुलनीय देखिन्छ ।
त्यति मात्रै होइन, तारागाउँ विकास समितिले पनि सम्झौताबमोजिम होटलबाट आर्थिक वर्ष २०७३/७४ देखि आव २०७९।८० सम्म लाभांशवापत १० करोड ५४ लाख ८९ हजार ४७४ रुपैयाँ प्राप्त गरिसकेको छ ।
त्यति मात्रै होइन, समितिले जग्गा भाडामा दिए वापत पनि करोडौँ रकम लिइसकेको छ । विसं २०५१ देखि हालसम्म जग्गा भाडावापत ६ करोड २१ लााख ६० हजार गरी १६ करोड ७६ लाख ४९ हजार ४७४ रुपैयाँ बुझिसकेको जनाइएको छ ।
नेपाल जस्तो मुलुकको विकासका लागि पर्यटन र सेवामुलक क्षेत्रका विकासमा हायात होटलले गरेको योगदान महत्वपूर्ण भएको जानकार बताउँछन् । उत्पादन मुलुक उद्योगमा छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने हाम्रो जस्तो मुलुकका लागि पर्यटन प्रबद्र्धन गरी सेवामुलक क्षेत्रमा लगानी बढाउने हो भने यसलाई विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्पका उपयोग गर्न सकिने हायात होटलले पुष्टि गरिसकेको छ ।
हायात होटलले नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान गर्नुका साथै विदेशी पर्यटकको विश्वास जित्न र गुणस्तरीय पर्यटक आकर्षित गर्नमा ठूलो भूमिका समेत निर्वाह गरेको छ ।
“हायात रिजेन्सी होटल हाम्रो मुलुकका लागि आवश्यक ब्राण्ड हुन्, यी ब्राण्डकै कारण आज विदेशी पर्यटकको विश्वास जित्न सकिएको छ”, पर्यटनसम्बन्धी जानकार एक विज्ञले भने, “त्यसैले यस्ता ब्राण्डलाई निरुत्साहित गर्नुको साथै प्रोत्साहन गर्ने हो भने यसले मुलुकका लागि फाइदा हुने देखिन्छ ।”
यसरी भयो होटल स्थापना
विकास समिति ऐन, २०१३ अन्तर्गत विसं २०३४ कात्तिक १ गते तारागाउँ विकास समिति गठन भएको हो । तत्कालीन समयको नेपाल महिला संगठन काठमाडौँ जिल्ला कार्यसमिति र तारागाउँ प्रालि दुई संस्था एकीकरण भइ समितिको स्थापना भएको थियो ।
समिति स्थापनाको आठ वर्षपछि अर्थात् २०४२ सालमा डेनमार्कको फ्लेक्सप्लान इन्टरनेशनल को सहयोगमा बेलायतको चर्चित कम्पनीले एट्किन्स इन्टरनेशनल र ग्रीन, बेलफिल्ड स्मिथ एण्ड कम्पनी लिमिटेडले तत्कालीन पर्यटन मन्त्रालयका लागि ‘तारागाउँ सांस्कृृतिक केन्द्र’को पूर्वसम्भाव्यता र सामाजिक आर्थिक अध्ययन गराइएको थियो ।
आवश्यक अध्ययनपछि कम्पनीले तारागाउँ सांस्कृतिक केन्द्रको गुरुयोजना (सन् १९८६–१९८७) तयार ग¥यो । गुरुयोजनामा दुई लाख ५५ हजार १३० वर्गफिट क्षेत्रफलमा ३०३ कोठासहितको प्यागोडा शैलीको विविध संस्कृृति झल्काउने अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माणका लागि सुझाव दिइएको थियो । सोअनुसारको होटल निर्माणका लागि ४५ लाख अमेरिकी डलर लाग्ने गुरुयोजनामा अनुमान गरिएको थियो ।
गुरुयोजनामा सांग्रिला इन्टरनेशनल, ताज ग्रुप अफ होटल्स, रमाडा इन्टरनेशनल, हायात इन्टरनेशनल सिकागो गरी ६ वटाको नाम नै उल्लेख गरी त्यसैमध्येको एक लक्जरी चेन होटल हुनुपर्ने सुझाव दिइएको थियो ।
तारागाउँ विकास समितिले गुरुयोजना तयार भएको करिब पाँच वर्षपछि सोहीअनुसार होटल निर्माणका विसं २०४८ साउन २० गते द राइजिङ नेपालमा ‘द इन्भेष्टमेन्ट अपरच्युनिटी’ शीर्षकमा बोलपत्र सूचना प्रकाशित ग¥यो । उक्त सूचनाअनुसार विभिन्न स्वदेशी तथा विदेशी व्यापारी समूहहरुले बोलपत्र प्रस्ताव पेस गरेका थिए ।
समितिको जग्गालाई सबैभन्दा बढी मूल्य दिनसक्ने र परियोजना निर्माण तथा सञ्चालनका लागि प्राविधिक दक्षता भएको, परियोजनालाई आवश्यक स्वदेशी तथा विदेशी लगानी जुटाउन सक्नेलगायतका मापदण्ड बनाइएको थियो । जसमध्ये प्राविधिक र आर्थिक प्रस्ताव उत्कृष्ट भएका आधारमा श्रेष्ठ, सराफ समूहको प्रस्ताव छनोट भएको थियो । बोलपत्र दस्तावेज (गुरुयोजना)मा समितिले शेयर वापत जग्गा लगानी गर्ने स्पष्ट थियो ।
बोलपत्रमार्फत छनोट भएको श्रेष्ठ, सराफ समूह र तारागाउँ विकास समितिबीच संयुक्त लगानीमा होटल निर्माण गर्न २०४९ असोज २२ गते संयुक्त लगानी सम्झौता भयो ।
समितिले आफ्नो स्वामित्वमा रहेको जग्गा शेयर वापत लगानी गरी होटल निर्माण गर्ने विषयलाई तत्कालीन श्री ५ को सरकारको २०४९ मंसिर ४ गतेको मन्त्रिपरिषद्को बैठकले समितिका नाममा रहेको ३०४ रोपनीमध्ये १५० रोपनी जग्गा शेयरवापत कम्पनीका नाममा नामसारी गर्न र बाँकी जग्गा भाडामा दिन स्वीकृति दिएको थियो ।
उक्त निर्णयपछि तारागाउँ विकास समिति समेत संस्थापक शेयरधनी भइ तारागाउँ रिजेन्सी होटल्स लिमिटेड पब्लिक कम्पनीका रुपमा २०४९ चैत १६ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भयो । विसं २०५२ पुस १२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले होटल निर्माणको शिलान्यास गरे भने २०५३ माघ १९ गतेदेखि होटल निर्माण सुरु भयो ।
विसं २०५७ असोज ११ गते तत्कालीन राजा वीरेन्द्र विरबिक्रम शाहले होटल उद्घाटन गरेका थिए । जुन तत्कालीन समयमा मात्रै नभइ हालसम्म नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको चेन होटलका रुपमा सञ्चालित छ । बोलपत्रमा श्रेष्ठ, सराफ समूहको प्रस्तावअनुसार नै स्थापनादेखि नै हालसम्म होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय विख्यात चेन होटल हायात रिजेन्सीले गर्दै आएको छ ।

