बसन्ता खरेल
नयाँ वर्ष साँच्चिकै नयाँ बनेर आओस्
नयाँ वर्ष आओस् यस्तो,
जहाँ हृदयले फेरि विश्वास गर्न सिकून्।
जहाँ थाकेका पाइलाहरूमा
फेरि साहसको जोश भरियोस्।
घाम उकालो लागोस् केवल आकाशमा हैन,
मनको अँध्यारो कुनामा पनि उज्यालो पसोस्।
नयाँ पात झरुन् दुखका रुखबाट,
र फेरि प्रेमका फूलहरू फुलून् साह्रै राम्रा गरी।
साथहरू छुटे होलान्, तर सम्झनाहरू बाँकी छन्,
विगतको पीडालाई आज अनुभवमा बदलौं,
आँसुहरूले लेखिएको कथा अब
हर्षले बोलिने स्मृति बनोस्।
नयाँ वर्ष आओस् यस्तो,
जहाँ क्षमा गहिरो होस्, र घृणा टाढा।
जहाँ कामनाहरू केवल शब्दमा हैन,
कर्ममा झल्कोस्।
आओस् यस्तो वर्ष,
जहाँ आत्मा पनि मुस्काओस्।
नयाँ वर्ष साँच्चिकै नयाँ बनेर आओस्।

