काठमाडौं, असार २४
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा धार्मिक श्रद्धा, उल्लास र उत्सवपूर्वक मनाइँदै छ। बिहानैदेखि स्नान गरी सेतो पोशाकमा सजिएका हजारौं मुस्लिम श्रद्धालुहरू मस्जिद र खुला मैदान (इदगाह) पुगेर सामूहिक नमाजमा सहभागी भएका छन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा मनाइने बकर ईद इस्लाम धर्ममा विशेष महत्व राख्ने पर्व हो। यो पर्व इब्राहिमले अल्लाहको आदेश पालना गर्दै आफ्नो छोरा इस्माएललाई बलिदान दिन तयार भएको सम्झनामा मनाइन्छ। यही ऐतिहासिक घटनाको आधारमा मुस्लिम समुदायले बकर ईद मनाउने परम्परा विकास भएको हो।
पर्वको अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, भट्केको पुल मस्जिद, कोटेश्वर इदगाह, ललितपुर र भक्तपुरका विभिन्न मस्जिदहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। नमाज पढिसकेपछि एकापसमा अंगालो मार्दै ‘ईद मुबारक’ भनी शुभकामना साटासाट गरिन्छ। नमाजपछि बकर अर्थात् पाठो वा अन्य चौपाया जनावरको धार्मिक विधिअनुसार बलिदान दिइन्छ, र त्यसको मासु आफन्त, छिमेकी तथा गरिबहरूमा बाँडिने चलन रहेको छ।
धार्मिक गुरु मौलाना रहमत अलीका अनुसार बकर ईदले आत्मबलिदान, परोपकार र समर्पणको गहिरो सन्देश दिन्छ। “इब्राहिमले अल्लाहको आदेशमा छोराको बलिदान दिन तयार भएर जस्तो समर्पण देखाउनुभयो, त्यसबाट हामीले पनि आफ्नो अहंकार, स्वार्थ र लोभ त्याग्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ,” मौलानाको भनाइ छ।
बकर ईद इस्लाम धर्मका पैगम्बर मोहम्मद सलल्लाह अलेह वसल्लमद्वारा सुरु गरिएको परम्परालाई निरन्तरता दिने पर्व पनि हो। सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मदले इब्राहिमको धर्म र परम्परालाई पुनःस्थापना गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो, जसले बकर ईदलाई धार्मिक महत्वमा थप मजबुत बनाएको छ।
आजको दिन देशभरका मुस्लिम समुदायले आपसी सद्भाव, सहयोग र धार्मिक आस्थाका साथ पर्व मनाइरहेका छन्। सरकारले समेत यस दिनलाई सार्वजनिक बिदा दिँदै पर्वको सम्मान गरेको छ।

