-जयराम बिडारी
जेठ २६,काठमण्डौ
नेपालमा हठयोग परम्परा,जीवाश्म,आरम्भ,बज्जि र बज्जिका,तपोधन,तथापि जस्ता जीवन दर्शन र लोकजीवनका यावत पक्षहरु समेटेर पाठकलाई आलोकित तुल्याउन निरन्तर लागिपरेका साहित्यकार शीतल गिरीको पछिल्लो उपन्यास ‘कैवल्य’ माथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
पत्रकला साप्ताहिकद्वारा आयोजना गरिएको उक्त कार्यक्रम ओरिएन्टल पब्लिकेशनका प्रकाशक हरि गौतमको अध्यक्षतामा प्रशिद्ध साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदको आतिथ्यता साथै सयौंका संख्यामा उपस्थित साहित्यकार तथा साह्यानुरागीहरुको उपस्थितिमा पाटन हाई स्कूल, पाटनढोका ललितपुरमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले नेपाली साहित्यमा गिरीको योगदानको चर्चा गर्दै जीवनमा आइपर्ने बिपत्तिहरुले पनि कहिलेकाहीं सुखद परिणाम दिने धारणा व्यक्त गरे । तराई आन्दोलनका क्रममा आफ्नो थातथलो छाडेर विस्थापित हुनुपरेका गिरीले नेपाली साहित्य भण्डारलाई महत्वपूर्ण कृति प्रदान गरेर स्थापित भएको बताए । परिचर्चाका क्रममा उनले पौरस्त्य दर्शनमा आधारित उपन्यास कैवल्यमा प्रयुक्त पात्रहरुबाटै पनि दर्जनौँ उपन्यास लेख्न सकिने विचार व्यक्त गरे ।
कार्यक्रमका नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बौद्ध तथा किराँत सभ्यतामा थुप्रै खोज अनुसन्धान गरिएको हलेसी महादेवको प्रसंग उल्लेख गर्दै हिन्दू परम्परामा यथेष्ट तथ्य प्रमाण उजागर गर्नका श्रीमद्भागवतको दशम स्कन्दको भर पर्नु परेको बताउँदै बौद्ध दर्शनमा आधारित कैवल्य महत्त्वपूर्ण पुस्तक आएको बताए ।
सो समारोहमा डा.तुलसीप्रसाद गौतमले शीतलको उपन्यासमा सांकेतिकरूपमा धेरै विषय पाइने बताउँदै लेखकले बुद्ध दर्शन बुझेर यो पठनीय कृति तयार पारेको उल्लेख गरे ।यसैगरी कृतिका भूमिका लेखक तथा साहित्यकार प्रोल्लास सिन्धुलीयले कैवल्य उपन्यासमा बुद्धको कथा नभएर चन्द्र र स्वातीको त्याग र तपस्याको कथा भएको उल्लेख गरे । एक प्रसंगमा उनले बुद्ध र यशोधराको वियोगान्त कथा सुनिरहेका पाठकहरुका लागि चन्द्र र स्वातीको त्याग कम नरहेको बताए ।
समीक्षक नारायणप्रसाद शर्माले गिरीको लेखन कौशलको प्रशंसा गर्दै बौद्ध दर्शनका विषयवस्तु लाई सुन्दर बिम्ब र प्रतीकको प्रयोग गरी पाठकलाई नवीन स्वाद दिन कैवल्य सक्षम रहेको बताउँदै कृति सफलताको शुभकामना दिए । यसैगरी अर्का समीक्षक ध्रुवराज थापले शीतल गिरीका व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए ।
पुस्तकमाथि पाठकीय मन्तव्यका क्रममा समीक्षक शर्मिला बगालेले अर्काको अस्तित्व स्वीकार गर्दै जाँदा आफ्नै अस्तित्व नामेट भएर जाने उल्लेख गर्दै सम्राट अशोक लगायत समुचित पात्र चयन र तीनका कथाहरुको कारुणिक श्रृङ्खलाले उपन्यासमा प्राण भरेको बताइन् ।
कार्यक्रममा उपन्यासकार शीतल गिरीले रचना गर्भका बारे प्रकाश पारे । उनले कैवल्य आजका मितिदेखी समस्त पाठकहरुको सम्पत्तिको रुपमा प्रेषित गरिएको बताए । साथै प्राप्त हुने यथोचित सल्लाह सुझाव र पाठकीय प्रतिक्रियालाई हृदयंगम गरेर सिर्जनात्मक उडान भर्नका लागि सघाउ पुग्ने विचार व्यक्त गर्दै अभ्यागतहरुलाई आभार व्यक्त गरे ।
पत्रकला साप्ताहिक पत्रिकाका सम्पादक डिल्लीरमण सुवेदीले सहजीकरण गरेको सो कार्यक्रममा पाटन हाई स्कूलका प्रधानाध्यापक कुमार चौलागाईँले स्वागत गरेका थिए ।

