काठमाण्डौ । गायक मनबहादुर गुरुङ (रञ्जित) ले बेँसीसहरमा आयोजित लमजुङ लोकताराको उपाधि जितेका छन् । मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापूका गुरुङले ३४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले आयोजना गरेको लमजुङ लोक तारा-२०८२ एकल लोकगायन प्रतियोगितामा ५० भन्दा बढीले सहभागिता जनाएका थिए । शनिबार सकिएको प्रतिस्पर्धामा प्रथम गुरुङले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा दोर्दी गाउँपालिका-३ श्रीमञ्ज्याङका युकेश परियार दोस्रो भई नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पाए ।

प्रतियोगितामा बेँसीसहर नगरपालिका-११ चितीका विशाल सुनार तेस्रो भई नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाए भने मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरा भाचेका हस्त सेञ्चुरी र सोही ठाउँकी आसमाया विकले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रथम र द्वितीयले पोखरामा आयोजना हुने गण्डकी तारामा प्रतिस्पर्धा गर्ने आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताएका छन् ।

प्रतियोगितामा विजयीलाई वरिष्ठ लोक गायिका माया गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङ, केन्द्रीय सहसचिव तारानाथ आचार्य, गण्डकी प्रदेश महिला उपाध्यक्ष मञ्जु विक, जिल्ला अध्यक्ष अनुज अधिकारी, पुरस्कार प्रायोजक बमबहादुर विकलगायतले नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी वितरण गरे ।