काठमाण्डौ । करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । मंगलबार राति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरेका हुन् ।
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराएको हो ।
जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डको समान २ अङ्क भएको छ । यसअघि सोमवारको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो ।
आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
बुधबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेपालले आफ्नो तेस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रवार घरेलु टोली स्कट्ल्याण्डससँग खेल्नेछ ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्ने छ ।

