काठमाण्डौ । राष्ट्रिय कविता महोत्सव-०८२ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिक उत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २५ प्रतियोगी कवि र १५ अतिथि कविका कविताको वाचनसहित सम्पन्न भएको हो ।
प्रतिष्ठानकी काव्य विभाग प्रमुख एवम् कविता महोत्सवकी संयोजक बाबा बस्नेतको अध्यक्षतामा भएको राष्ट्रिय कविता महोत्सव प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले देउता शिर्षकको कविता वाचनबाट शुभारम्भ भएको थियो ।
रमेश क्षितिज, धीरेन्द्र प्रेमर्षि, शोभा दुलाल, बीरेन्द्र राई, दीपेन्द्र पाँच जनाको मूल्यांकन समितिले प्राप्त कविता मध्येबाट छानिएका २५ कविता महोत्सवमा वाचन गरिए । मूल्यांकन समिति एक सदस्यका अनुसार ५ सय ५९ कविता प्रतियोगिताका लागि प्राप्त भएका थिए ।
महोत्सवमा सोमबार पच्चिस वाचित कविताबाट उत्कृष्ट दस कवि पनि घोषणा गरिएको छ । उत्कृष्ट दसमा अविनाश भट्टराई, तुलसी केसी, गोमा श्रेष्ठ, सिर्जन अविरल, किशन पौडेल, चन्द्रमणि चापागाईँ, कर्ण संजय, रमा सुवेदी, शमुयल कोइराला विश्वकर्मा, रमा सुवेदी उर्फ मिरमा रहेका छन् ।
उत्कृष्ट दसलाई प्रमाणपत्रसहित जनही रु चालीस हजार नगदसहित पुरस्कृत गर्ने गरिएको छ । प्रतिष्ठानले उत्कृष्ट दस कविलाई निकट समयमै एक कार्यक्रम आयोजना गरि राष्ट्रपतिको हातबाट पुरस्कृत गर्ने छ ।
यी हुन् उत्कृष्ट दस कवि, दस कविता

यस्तो पनि देखियो …
कविता महोत्सवमा उत्कृष्ट पच्चिसको छनौट सूचिमा परेकी ललितपुरकी कवि सन्ध्या महर्जन (नेपाल भाषा) कविता महोत्सवमा वाचन गर्न उपस्थित भईनन् । महर्जनले न भिडियोमा नै आफ्नो कविता पठाएकी थिईन् । महोत्सवमा वाचन गर्न उपस्थित नभएकि मात्र हैन, भिडियोमार्फत आफ्नो कविता नपठाए पनि उनको कविता उत्कृष्ट दसभित्र परेको छ ।
कविता वाचनका लागि चितवनबाट काठमाण्डौ आउदै गरेका कवि सिर्जन अविरल धार्के नजिकै पहिरो खसेर बाटो अवरुद्ध भएपछी उनले आफ्नो कविता को भिडियो पठाएका थिए । जस्लाई कविता महोत्सवमा प्रस्तुत गरिएको थियो ।
उत्कृष्ट २५ कविमा एक मात्र अनुपस्थित कविलाई कुन आधारमा उत्कृष्ट १० भित्र पारियो, प्रश्न गर्ने ठाउँ छ ।

