काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार छाडेको खुलासा भएको छ। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्रले केही महिना अगाडि नै राजीनामा दिएको र स्वीकृत पनि भैसकेको बताए ।
सहायक हवलदारमा कार्यरत दीपेन्द्रले घरायसी कारण देखाएर राजीनामा दिएका हुन् ।
चीनमा सम्पन्न १९औं एसियाली खेलकुद अन्तर्गत ट्वान्टी २० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका उनलाई प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा गरिएको थियो। सो खेलमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए।
२०७३ सालमा सेवा प्रवेश गरेको दीपेन्द्र २०८० सालमा बढुवा भएका थिए। त्यसको दुई वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन्।
नेपाल पुलिस क्लबको कप्तान भएर उनले खेल प्रदर्शन गर्दै आएका थिए।

