काठमाडौं, असार २६ — पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको ऐतिहासिक धरहरा अब सार्वजनिक बिदामा पनि खुला गरिने भएको छ। सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि धरहरा दुई चरण (सिफ्ट) मा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। यसअघिसम्म धरहरा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुल्ने र सार्वजनिक बिदाको दिन बन्द हुने व्यवस्था थियो। अब भने सार्वजनिक बिदाका दिनसमेत बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला गरिनेछ।
सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार धरहरामा दैनिक बढ्दो अवलोकनकर्ताको भीडका कारण सातै दिन र दुई सिफ्टमा सञ्चालनको निर्णय लिइएको हो। शनिबार साप्ताहिक बिदा हुने हुँदा धरहरा बुधवार बन्द हुने प्रचलन जारी रहनेछ।
चार करोड राजस्व संकलन
पुनर्निर्माणपछि धरहरा गत मंसिर ९ गतेबाट सर्वसाधारणका लागि सशुल्क रूपमा खुला गरिएको थियो। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का अनुसार हालसम्म धरहराबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। यो राजस्व प्रतिदिनको टिकट बिक्रीबाट सोझै सरकारको खातामा जम्मा हुने गरिएको छ।
जेठ मसान्तसम्मको विवरणअनुसार धरहरा अवलोकन गर्नेको संख्या दुई लाख ३७ हजार ६५ पुगेको छ। १० वर्षमुनिका बालबालिकाबाट शुल्क नलिने व्यवस्था भएकाले उनीहरूको संख्या भने यसमा समावेश छैन।
विदेशी पर्यटक पनि आकर्षित
नायब सुब्बा बाघसिंह ओलीका अनुसार धरहरामा नेपाली मात्रै नभई विदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ। सार्क मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति ५ सय र अन्य मुलुकका लागि १ हजार रुपैयाँको टिकट शुल्क तोकिएको छ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट दिइएको छ। धरहरा परिसरमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ भने फोटोग्राफी र भिडियो छायाङ्कनका लागि प्रतिघण्टा १ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ।
धरहराको बेसमेन्टमा रहेको पार्किङ सुविधा भने हालसम्म निःशुल्क प्रदान गरिँदै आएको छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन धरहरा परिसरमा सजिलै पार्क गर्न सकिने व्यवस्था छ।
पुनर्निर्माणपछि सांस्कृतिक महत्व बोकेको धरहरा पुनः नयाँ स्वरूपमा सञ्चालनमा आएको छ। सार्वजनिक बिदामा पनि धरहरा खुला गर्ने निर्णयले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। ऐतिहासिक धरोहरको संरक्षणसँगै आम नागरिकलाई सुविधा दिने पहल सराहनीय मानिएको छ।

