काठमाडौं, असार २९ — राष्ट्रिय जनमोर्चाका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले भ्रष्टाचारविरुद्ध घण्टी बजाउँदै आएका व्यक्तिहरूको व्यवहार पनि अब उस्तै भएको टिप्पणी गरे। उनले भने, “पुराना पार्टीहरूले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरूको हालत पनि त हामीले देखिरहेका छौं।”
उनको भनाइमा, देशभर अहिले भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान चलिरहेको बेला, सत्ता र सरकारमै रहेका व्यक्तिहरूले देश लुट्ने प्रवृत्ति देखाइरहेका छन्। केसीले यस्ता प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिहरूलाई मलजल गरिरहेको चेतावनीसमेत दिए।
सांसद केसीले सत्तासीन दलहरूले सुधारको नाममा जनताको विश्वास गुमाउँदै गइरहेको उल्लेख गर्दै देशमा राजनीतिक नैतिकताको गम्भीर संकट देखिएको धारणा राखे।
उनले भ्रष्टाचार विरुद्धको लडाइँमा सच्चा प्रतिबद्धता आवश्यक रहेको भन्दै, “कसैले घण्टी बजाएको मात्र भएर हुँदैन, व्यवहारमा पनि परिवर्तन देखिनुपर्छ,” भनेका छन्।
सांसद केसीको भनाइले हालको सत्ता गठबन्धन र सरकारप्रतिको जनआक्रोश तथा अविश्वास झल्काएको छ

