काठमाडौं — पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्या देवी भण्डारीले सहमति नभए पार्टी अध्यक्ष बन्ने प्रतिस्पर्धामा चुनावमार्फत जाने स्पष्ट संकेत दिएकी छिन् । एमाले नेतृत्वमा पुनः सक्रिय भइरहेका बेला एक अन्तर्वार्तामा बोल्दै उनले आफ्नो लक्ष्य पार्टीको अध्यक्ष बन्नु नै रहेको स्पष्ट पारेकी हुन्।
“एमालेको राजनीतिमा फर्किनुको अर्थ अध्यक्ष बन्नका लागि हो ?” भन्ने प्रश्नको जवाफमा भण्डारीले बिना हिचकिचाहट भनिन्, “एकदम, त्यसमा त कुनै सन्देह छ र ?”
भण्डारीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनमा सार्वजनिक रूपमा अर्को कार्यकालका लागि अध्यक्ष नबन्ने घोषणा गरेको प्रसंग उल्लेख गरिन्। “उहाँ (ओली) एउटै कक्षामा दोहोर्याएर जाँच दिन्न भन्ने खालको व्यक्ति हो,” भण्डारीले भनिन्, “अरू नेताहरूले भन्दैमा उहाँ दोहोर्याउने, तेहेर्याउने गर्नुहुन्न, मैले चिनेको केपी ओली त्यस्तो होइन।”
भण्डारीले सहमतिबाट नेतृत्व परिवर्तन हुनु उपयुक्त हुने बताउँदै सहमति नजुटेमा निर्वाचनको बाटो अपनाउने स्पष्ट संकेत दिइन्। उनले ओलीले आफूलाई समर्थन गर्ने विश्वास पनि व्यक्त गरिन्।
एमालेको आगामी महाधिवेशनतर्फ संकेत गर्दै भण्डारीको अभिव्यक्तिलाई भावी शक्ति समिकरणको संकेतको रूपमा हेरिएको छ। लामो समयसम्म ओलीको निकट सहकर्मी रहिएकी भण्डारीले अहिले नेतृत्वको लागि खुला चुनौती दिनुले एमालेभित्र आन्तरिक बहस र प्रतिस्पर्धा चर्किने अनुमान गर्न सकिन्छ।

