काठमाडौं — नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘पपुलिस्ट’ अर्थात लोकप्रियतामुखी पार्टीको रूपमा चित्रण गर्दै, जनताले छिटो मूल्यांकन गर्न सकून् भन्ने उद्देश्यले आफूहरूले सत्ता साझेदार बनाएको बताएका छन्।
उनका अनुसार, रास्वपालाई सत्ताबाट बाहिर राख्दा जनतामा आकर्षण रहिरहने, तर सरकारमा ल्याई जिम्मेवारी दिँदा ‘वास्तविक हैसियत’ देखिने भएकाले एमालेकै पहलमा उनलाई सत्ता साझेदार बनाइएको हो।
“बाहिर राख्यो भने आकर्षण रहिरहन्छ, तर परीक्षण गरियो भने के रहेछ भन्ने जनतालाई चाँडै थाहा हुन्छ भन्ने मान्यताका आधारमा रास्वपालाई सत्ता साझेदार बनायौँ,” पोख्रेलले स्पष्ट पारे।
उनले थप खुलासा गरे कि रास्वपाका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवासलाई ‘भरोसाको केन्द्र’ ठान्दथे। “त्यतिबेला रास्वपाका नेताहरूको ‘भरोसाको केन्द्र’ एमाले अध्यक्षको निवास नै थियो, बस–उठ त्यहीँ हुन्थ्यो,” पोख्रेलले भने।
उनका अनुसार, गृह मन्त्रालयदेखि शिक्षा, श्रम, स्वास्थ्य जस्ता महत्वपूर्ण जिम्मेवारी दिँदै रास्वपाले जे माग्यो, त्यो पूरा गरिएको थियो। तर नेपाली कांग्रेससँग सहकार्य गरेपछि रास्वपालाई सरकारमा नराख्ने निर्णय भएपछि अहिले उल्टै एमालेमाथि हमला सुरु गरिएको पोख्रेलको आरोप छ।
पोख्रेलको टिप्पणी पछिल्लो समय एमाले र रास्वपाबीच बढ्दो राजनीतिक दूरी र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा आएको हो।

