काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली साहित्य र भाषा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो। नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।”
आज देशभरि आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रममार्फत मनाइँदै छ। विद्यालय, साहित्यिक संस्था, नगरपालिकाहरू तथा विभिन्न समुदायहरूले भानुभक्तको योगदानलाई स्मरण गर्दै कविता प्रतियोगिता, वक्तृत्वकला, सम्मान कार्यक्रम, रामायण पाठ लगायतका कार्यक्रम आयोजना गरेका छन्।
आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरी नेपाली साहित्यको जग बसाल्नुभएको थियो। उहाँको योगदानका कारण नेपाली भाषा र साहित्यको विकासमा एक ऐतिहासिक मोड आएको मानिन्छ।

