पोखरा, साउन १२ –
सिन्धुलीबाट रहस्यमय तरिकाले बेपत्ता भएका लोपोन्मुख हायु समुदायका १६ जना कास्कीको पोखरामा फेला परेका छन्। उनीहरू पोखरा महानगरपालिका–३० स्थित गोगनगौंडाको एक स्थानीय बासिन्दाको घरमा भेटिएका हुन्।
प्रहरीका अनुसार आइतबार बिहान ती सबै जना पोखराको जननी होटलबाट निस्किएका थिए। खोजीको क्रममा उनीहरू सोमबार कास्की प्रहरीले फेला पारेको जनाएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामलाल ओलीका अनुसार, सिन्धुली प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा घर फर्काउने तयारी भइरहेको छ।
हराएका मध्ये गोलान्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास विप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको परिवार पनि समावेश रहेको बताइएको छ। तीन दिनअघि सम्पर्कविहीन भएपछि स्थानीय बासिन्दा र प्रहरी दुवैले खोजी सुरु गरेका थिए।
लोपोन्मुख जातिको सूचीमा सूचीकृत हायु समुदायका व्यक्तिहरू यसरी समूहमा एकैपटक हराउनु रहस्यमय मानिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

