ललितपुर, भदौ ११ – ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाहरुलाई सात बुँदे सूचना जारी गर्दै सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ का प्रावधान पालना गर्न निर्देशन दिएको छ।
बुधबार सार्वजनिक सूचनाअनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य लेखा परीक्षण सम्पन्न गरी परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्नेछ। त्यस्तै, वार्षिक साधारण सभा पुस महिनाभित्र सम्पन्न गरी त्यसको १५ दिनभित्र वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था स्मरण गराइएको छ।
निर्धारित समयमै प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी महानगरले दिएको छ। प्रतिवेदन पेश गर्दा तोकिएको चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न समेत आग्रह गरिएको छ।
यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै महानगरले प्रतिवेदनको हार्डकपीसहित समष्टिगत विवरण आफ्नो वेबसाइटमार्फत अनिवार्य अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ।

