काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवमा चयन गरेको छ ।
बैठकको सुरुवातमा महासचिव वैद्यले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको पत्र वाचन गरिएको थियो । त्यसपछि उहाँले भर्चुअल माध्यमबाट केन्द्रीय समितिलाई सम्बोधन गर्दै राजीनामा स्वीकृत गरिदिन अनुरोध गर्नुभएको थियो । वैद्यको अनुरोधअनुसार बैठकले राजीनामा स्वीकृत गर्दै गजुरेललाई सर्वसम्मत रूपमा महासचिवमा चयन गरेको हो ।
कार्यवाहक महासचिव (अब महासचिव) गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९ देखि कात्तिक १ गतेसम्म सम्पन्न बैठकले गौरवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा व्यापक छलफल गरी प्राप्त सुझाव समेटी प्रतिवेदनलाई समृद्ध पार्दै पारित गरेको छ ।
बैठकले ‘जेनजी विद्रोह’ पछि उत्पन्न बदलिँदो राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकार गठनका पक्षमा व्यापक संघर्ष उठाउने निर्णय गरेको छ ।
बैठकले लिएका अन्य महत्वपूर्ण निर्णयहरूबारे चाँडै आधिकारिक वक्तव्यमार्फत सार्वजनिक गरिने नयाँ महासचिव सीपी गजुरेल ‘गौरव’ले जानकारी दिनुभयो ।

