महेन्द्रनगर — कञ्चनपुर र कैलालीका ३३ हजार ५२० हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति अहिलेसम्म २७ प्रतिशतमै सीमित रहेको छ। आयोजनामा अहिलेसम्म नौ अर्बभन्दा बढी लगानी भइसकेको छ।
बजेट अभाव, जग्गा मुआब्जा विवाद र वन क्षेत्र व्यवस्थापनमा ढिलाइका कारण आयोजनाको काम सुस्त भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलले बताए।
“मुआब्जाप्रति स्थानीय असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा प्रगति कछुवा गतिमा पुगेको हो,” उनले भने।
पोखरेलका अनुसार हाल निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको सम्झौता गरी कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माणको काम चार चरणमा अघि बढाइएको छ। हालसम्म ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर नहर निर्माण भइसकेको छ।
महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ।
सरकारले आगामी २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म नहर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

