मोरङ, कार्तिक २२ –
सुन्दरहरैंचा नगरपालिका–९,
नागदेवीचोक सलकपुरस्थित सुन्दरहरैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिवार शिक्षा निकेतन सलकपुरमा सम्पन्न भएको छ। सभाले नयाँ ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नव निर्वाचित समितिमा हरि बहादुर पौडेल अध्यक्ष, परशुराम पराजुली उपाध्यक्ष, शंकर भट्टराई सचिव, बद्री प्रसाद ढकाल कोषाध्यक्ष तथा सदस्यहरूमा होम बहादुर खड्का, सुमित्रा सुब्बा, मन्दिरा उप्रेती, मिलन भट्टराई र समिक्षा बस्नेत दाहाल रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा तिल कुमार नेपाल निर्वाचित भएका छन् भने सदस्यहरूमा रेवत प्रसाद उप्रेती र सविता कोइराला कट्टेल रहेका छन्।
कार्यक्रमका क्रममा संस्थाका तत्कालीन अध्यक्ष लक्ष्मी प्रसाद गुरागाईले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक गोपाल पाठकले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा उत्कृष्ट ऋणी, बचतकर्ता, जेष्ठ शेयर सदस्य तथा शेयर सदस्यका परिवारभित्रका उत्कृष्ट विद्यार्थी (कक्षा १२ देखि स्नातकोत्तर तहसम्म) रहेका थिए।
सभाको अन्त्यमा चिठ्ठा कार्यक्रम सञ्चालन गरी सहभागी सदस्यहरूलाई मनोरञ्जन गराइएको थियो।
हाल संस्थामा महिला ४२४ र पुरुष ३२७ गरी कुल ७५१ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी १ करोड २७ लाख ६४ हजार ९०० रुपैयाँ, निक्षेप रकम ५ करोड ५५ लाख ५६ हजार ८९९ रुपैयाँ र विभिन्न कोष खातामा ६८ लाख १० हजार ५०१ रुपैयाँ रहेको कोषाध्यक्ष बद्री प्रसाद ढकालले जानकारी दिए। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ६ लाख २५ हजार २०२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको पनि उनले बताए।
साबिक बद्री प्रसाद ढकाल अध्यक्ष रहेको झरना बचत तथा ऋण सहकारी, लक्ष्मी प्रसाद गुरागाई अध्यक्ष रहेको सहयात्री बचत तथा ऋण सहकारी र हरि बहादुर पौडेल अध्यक्ष रहेको नागदेवी बचत तथा ऋण सहकारी संस्थाहरू सन् २०७८ मा एकीकृत भई कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा दर्ता भई सञ्चालनमा आएका हुन्। हाल संस्थाले करिब ५ करोड रुपैयाँ लगानी गरी सदस्यहरूको व्यापार, कृषि तथा अन्य क्षेत्रमा सेवा प्रदान गरिरहेको जानकारी कोषाध्यक्ष ढकालले दिए।
साधारण सभाको सञ्चालन संस्थाका सचिव शंकर भट्टराईले गरेका थिए। नयाँ अध्यक्ष हरि बहादुर पौडेलले पदस्थापन कार्यक्रम आगामी शनिबार हुने जानकारी दिएका छन्।

