काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरूप देशभर मतदाता परिचयपत्र बनाउनका लागि जिल्ला तथा स्थानीय निर्वाचन कार्यालयहरूमा ठूलो भीड देखिएको छ। नयाँ मतदाता सूचीकृत गर्ने र पुराना कार्ड हराएका वा नवीकरण गर्न चाहने नागरिकको भीड एकैपटक बढेपछि कार्यालयहरूमा चाप अत्यधिक भएको छ।
मतदाता परिचयपत्र वितरणका लागि प्रयोग हुने कम्प्युटर सर्भर बारम्बार डाउन हुने र इन्टरनेट गति सुस्त हुने कारणले काम ढिलो भइरहेको सम्बन्धित कर्मचारीहरूले बताएका छन्। “दैनिक हजारौं नागरिक सेवा लिन आउँछन्, तर सर्भर चलेन भने एउटा फर्म भर्न पनि घण्टौं लाग्छ,” एक कर्मचारीले बताए।
स्रोतका अनुसार निर्वाचन आयोगले प्रारम्भिक रूपमा कार्तिक मसान्तभित्र मतदाता फारम भर्ने समय तोकेको भए पनि हालको अवस्था हेर्दा समयभित्र काम सम्पन्न हुन नसक्ने देखिएको छ। आयोगले आवश्यकता अनुसार समय थप्ने तयारी गरेको बताइएको छ।नागरिकहरू भने बिहान सबेरैदेखि लामो लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेका छन्। आगामी निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचयपत्र अनिवार्य भएकोले सबै नागरिकहरू सक्रिय रूपमा फारम भर्न कार्यालय पुगेका छन्।
यसबीच, स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक भीड नगरी पालो अनुसार सेवा लिन र आयोगको सुचना पछ्याउन अनुरोध गरेको छ।


