काठमाडौं – आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको चाप तीव्र बनेको छ। आयोगका अनुसार हालसम्म ३२ वटा दल दर्ता प्रक्रियामा रहेका छन्, जसमध्ये २३ वटा जेन–जी आन्दोलनपछि उदाएका नयाँ राजनीतिक शक्ति हुन्।
आयोगले हाल १२६ वटा दलले दर्ता प्रमाणपत्र प्राप्त गर्ने अधिकारिता सुनिश्चित भइसकेको जनाएको छ। दर्ता प्रक्रियामा रहेका धेरैजसो दलहरू नयाँ नेतृत्व, वैकल्पिक राजनीतिक धार र युवापुस्ताको सक्रियताको कारणले चर्चामा छन्।
नयाँ दलहरू दर्ताको दौडमा
दर्ता प्रक्रियामा रहेका प्रमुख दलहरूमा नेपाली कम्युनिस्ट पार्टी (प्रचण्ड संयोजक, माधवकुमार नेपाल सह–संयोजक), राष्ट्रिय ऊर्जाशील पार्टी (योगेन्द्र मण्डल), कम्युनिस्ट पार्टी नेपाल (विप्लव), उज्यालो नेपाल पार्टी (अनुप कुमार उपाध्याय) प्रमुख छन्।
त्यसैगरी जेन–जी आन्दोलनबाट प्रेरित राष्ट्रिय जेन–जी पार्टी (हिरा प्रसाद सोती), हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार), नवयुग पार्टी (नवराज सुवेदी), राष्ट्रिय परिवर्तन पार्टी (अजयकुमार राई), नेपाल लिबरल पार्टी (गोपीलाल न्यौपाने) सहितका दलहरूले पनि दर्ता प्रक्रिया अघि बढाएका छन्।
अन्य दलका निवेदन अध्ययनमा
आयोगले नेकपा (वामपन्थी केन्द्र), नागरिक सर्वोच्चता पार्टी, राष्ट्रिय स्वराज पार्टी, जनादेश पार्टी नेपाल, पिपुल फर्स्ट पार्टी लगायतका दलका दर्ता निवेदन अध्ययन भइरहेको जनाएको छ।
निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र सबै दलले दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने समय सीमा निर्धारण गरेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म उम्मेदवारी दर्ता खुल्ने र निर्वाचन फागुन २१ गते हुने तालिका सार्वजनिक भइसकेको छ।

