काठमाडौ: फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ ।
गएराति भएको समूह ‘ए’को खेलमा पोर्चुगलले आयारल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगललाई रोमान्चक जित दिलाउनको लागि उनले खेलको अन्त्यतिर लगातार दुई गोल गरे ।
खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा चुकेका थिए । खेलको ४५ औं मिनेटमा जोन इगनले गोल गर्दै आयरल्यान्डलाई अग्रता दिलाएका थिए ।
८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले गोन्कालो ग्वेडेसको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।
इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले नै गोल गरेर खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए ।
रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको त्यो पोर्चुगलका लागि १ सय १० औं गोल थियो ।
यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् ।
रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुर्याए ।

